दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सूर्य नेपाल प्रालिले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई शव वहान उपलब्ध गराएको छ । जिल्लामै शववाहन नहुँदा शव व्यवस्थापनमा समस्याकी साथै सेवाग्राहीले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शववाहन उपलब्ध गराएको हो । प्राप्त शववाहन तनहुँका १० वटै पालिकाहरुले उपयोग गर्नेछन् ।
सोमबार एक कार्यक्रमकाबीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र तनहुँका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कारखाना व्यवस्थापक बाबुराम कार्कीले शववाहनको चाबी हस्तान्तरण गरे । लगत्तै अस्पतालका बोर्ड सदस्य समेत रहेका सीडीयो आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभरनै शववाहन नहुदा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि सूर्य नेपालसँग सहयोग माग भएबमोजिम हाल उपलब्ध भएको बताए ।
अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्यले सबैको साथ र सहयोगले जिपीको स्तरोन्नती भइरहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनाली, कम्पनीका प्रतिनिधि गौतम यादब, अन्जन दुवाडी, हुमनाथ अर्याल लगायतको सहभागिता रहेको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले शव वाहनले नियमित सेवा दिने बताए ।
सूर्य नेपाल प्रालिले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कारखाना व्यवस्थापक कार्कीले बताए । सूर्य नेपाल प्रा.लि.ले यसै वर्ष तनहुँ स्थित स्थानिय निकायको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख सहयोग गरेको थियो भने गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा रु. एक–एक करोड प्रदान गरेको थियो ।
कम्पनीले गत आ.ब. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानीयवासीलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्ध लड्न सहयोग गर्दै आईरहेको छ ।