तनहुँमा कांग्रेसको वडा अधिवेशनको सरगर्मी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कांग्रेसको वडा अधिवेशनको सरगर्मी

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दुलेगाैडा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासंग भेटघाटमा व्यस्त छन् ।

    आफूलाई वडा सभापतिमा जिताउनलाई मत माग्दै हिँडेका छन् । उम्मेदवारले सामाजिक सञ्जालमा समेत मत माग्न थालेका छन् । चिया पसल, चौतारी, चोक–चोकमा वडा अधिवेशनको चर्चा चुलिएको छ । कस्ले कुन वडामा सभापति बाजी मार्छ आ–आफ्नै तरिकाले विश्लेषण गर्ने गरेका छन् ।

    शुक्रबार जिल्लाका १० स्थानीय तहको ८५ वडामा निर्वाचन हुनेछ । केन्द्रीय निर्वाचन समितिले तनहुँमा फणिन्द्र कोईरालालाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । सहायक मतदान अधिकृतमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्ले नियुक्त भएका छन् । सबै वडामा पनि निर्वाचन अधिकृत तोकिएको छ ।

    कांग्रेसको भातृ संगठनमा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकलाई वडाको निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । जिल्लामा वडा अधिवेशनको निर्वाचन कार्यतालिका तय भईसकेको छ । विहान ९ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्तादेखि मतदानको अवधी तकोएिको हो ।

    वडा अधिवेशनको तयारी पूरा भईसकेको कांग्रेस नेता तथा कार्यवाहक जिल्ला सभापति जितप्रकाश आलेले बताए । ‘निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएर निर्वाचन सामग्री सहित वडामा खटाई सकेका छौँ’, उनले भने । सकभर वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेको उनको भनाई छ । ‘सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छौँ । धेरैतिर सर्वसम्मत होला जस्तो पनि छ’, आलेले अगाडी थपे, ‘सर्वसम्मत नभए निर्वाचनमा जान्छौँ । हाम्रो पार्टीले निर्वाचनलाई सहज रुपमा लिने गर्छ ।’

    कांग्रेसकाे महाधिवेशनसंगै निर्धारित मितिमा भए स्थानीय तहको निर्वाचन पनि नजिकिदो छ । महाधिवेशनको हार जितले स्थानीय तहको निर्वाचनलाई पनि केही प्रभाव पार्ने देखिन्छ । तर, नेता आलेले यस्तो विश्लेषणलाई अस्वीकार गर्छन् । वडा अधिवेशनले एक सभापति सहित उपसभापति, सचिव र सहसचिव २÷२ जना निर्वाचित गर्नेछ । खुला र समावेशीतर्फ १५ जना सदस्य पनि निर्वाचित हुनुपर्ने प्रावधान छ । निर्वाचित १५ जनामध्ये एक जनलाई कोषाध्यक्ष पदमा वडा कार्य समितिले मनोनय गर्ने व्यवस्था रहेको छ । २० प्रतिशत सदस्य निर्वाचित वडा समितिले मनोनित गर्नेछन् ।

    तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला हो । तसर्थ तनहुँमा कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको नतिजाले केन्द्रसम्म अर्थ राख्छ । वरिष्ठ नेता पौडेलको गृह जिल्ला भएतापनि यहाँ गुटगत राजनीति हावी छ । पौडेलसँगै पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री शंकर भण्डारी, युवा नेता प्रदिप पौडेल, कारवाहीमा परेका गोविन्दराज जोशीको छुट्टाछुट्टै गुट छ ।

    वडाको अधिवेशनमा पनि ती गुटको प्रभाव पर्ने पक्का देखिन्छ । पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराई, आमन्त्रित सदस्य धुर्व वाग्ले यतिबेला गृह जिल्लामा छन् । वडाको अधिवेशनमा आफु निकटलाई जिताउन उनीहरु लागी परेको बताइन्छ । युवा नेता प्रदिप पौडेल पनि गृह जिल्ला आउने कार्यक्रम रहेको उनी निकट स्रोतले बतायो । वरिष्ठ नेता पौडेल भने वडा अधिवेशनको सन्दर्भमा जिल्ला आउने अहिलेसम्म टुंगो छैन् ।

    वडा तहको अधिवेशनमा केन्द्रीय नेता लाग्नुलाई पार्टीका नेता कार्यकर्ताले उचित मानेका छैनन् । ‘वडामै केन्द्रीय सदस्यले आफू निकट जिताउन लाग्नु राम्रो हाेइन । यसले गुटगत राजनीतिलाई बढवा दिन्छ’, एक नेताले भने । केही नेता कार्यकर्ता भने केन्द्रीय सदस्य गृह जिल्ला आउनुलाई सामान्य नै लिन्छन् । तर, धेरैको चाहना वडाबाटै गुटगत राजनीति हुर्काएर पार्टीको राजनीति दुषित नबनोस् भन्नेछ ।

    कांग्रेस जिल्ला समिति सचिव विश्व बास्तोेलाका अनुसार तनहुँमा १४ हजार ५ सय १४ जना क्रियाशिल सदस्य छन् । सात हजार पाँच सय ७९ नयाँ क्रियाशील सदस्य थपिएको उनले बताए । छ हजार ९ सय ३५ जना पुरानै क्रियाशील सदस्यले नविकरण गरेका हुन् ।