दुलेगाैडा : २०२६ सालमा रेखांकन भएको पृथ्वीराजमार्ग गण्डकी प्रदेशवासीको लाईफलाइन हो । यही राजमार्गले संघीय राजधानी काठमाडौँसँग गण्डकी प्रदेशको राजधानी पोखरालाई यातायात सञ्जालले जोडेको छ । नौबिसेदेखी पोखराको पृथ्वीचोकसम्म पर्ने पृथ्वी राजमार्ग तनहुँमा मात्रै ७२ किलोमिटर दूरीमा छ । मुग्लिनदेखि कोत्रेसम्म पृथ्वी राजमार्ग पर्छ ।
पछिल्ला केही वर्ष यता केही बेर हुने वर्षातले पनि पृथ्वी राजमार्ग जलमग्न हुने गरेको छ । भारी वर्षा भएको बेलामा त राजमार्गमा पर्ने कोत्रे, हलेदी, दुलेगौँडा, बेलचौतारा, खैरेनीटार, थर्पु, अकला, डुम्रे खण्डमा सडकमै खोला बग्छ । पहाडी जिल्लाको सडक तराईको जस्तै जलमग्न हुँदा सवारी चलाउनलाई मुस्किल हुन्छ । सडकमा भलबाढी उर्लदा ठूला सवारी कम प्रभावित भएपनि साना दुई पांग्रे सवारीमा कष्टरपूर्ण तवरले यात्रा गर्न यात्रु बाध्य हुन्छन् ।
गाउँ–गाउँ जानलाई खनिएका शाखा सडकबाट लेदो सहितको भल सिधै राजमार्गमा आउँदा सडकमै खोला बग्ने गरेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ईञ्जिनियर नारायण पौडेल बताउँछन् । उनी भन्छन्, ‘शाखा सडकको नालामा बग्ने पानी निकास गर्ने ठाउँ कतै हुदैन् । सिधैँ राजमार्गमा ल्याएर मिसाइन्छ । राजमार्ग छेउछाउमा बस्ती बसाल्दा पनि धैरतिर नाला बन्द गरिएको हुन्छ । पानीको निकास हुने ठाउँ कतै नभएपछि सडकमा नबगेर पानी कहाँ बग्ने ? सडक नै कुलो जस्तो भएको छ ।’ वर्षायाममा सडक जलमग्न भएर पानी बगिरहदा छोटो समयमा कालोपत्रे उप्किएर भत्कने समस्या रहेको उनको भनाई छ ।
राजमार्गबाट शाखा सडक खोल्दा सडक विभागको स्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ । डोजर लगाएर सडक खन्ने होडबाजीमा रहेका स्थानीय तहले भने सडकको ट्रयाक खोल्दा आफूखुशी गर्छन् । ‘जथाभावी खनिएका शाखा सडकले राजमार्गलाई भत्काएको पनि छ । अब कडाई गर्नुपर्ने भएको छ,’ उनले भने ।
भू तथा जलाधार संरक्षण व्यवस्थापन कार्यालय तनहुँका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे पनि ईञ्जियर पौडलको भनाईसँग सहमत छन् । प्रत्येक एक सय मिटरको दूरीमा खनिएको कच्ची सडकका कारण नै राजमार्ग छोटो समयमै जलमग्न हुने उनले बताए । ‘अव्यवस्थित ग्रामीण सडक खनिएको छ । माथि–माथिबाट ग्रेगान सहितको भल बाढी राजमार्गमा आईपुग्छ । ग्रेगानले एकातिर पानीको आयतन बढाउँछ । नाला थुनिने समस्या पनि गराउँछ’, उनले भने । शहरी क्षेत्रमा बस्ती बसाल्नलाई पोखरी, खोल्सा, खहरे अतिक्रमण गर्दाको कारण पनि पानीको निकास हुने ठाउँ नभएर पछिल्ला वर्षमा यस्ता समस्या बढी देखिएको घिमिरेको भनाई छ । शहरी क्षेत्रमा वर्षातकाे पानी व्यवस्थापन चुनौति भएको उनले उल्लेख गरे ।