तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्धामा फरार रहेका दुई सहित चार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाहका दुई, नाता कायमका एक र सम्बन्धविच्छेद मुद्धाका एक प्रतिवादी रहेका छन् ।
बहुविवाह मुद्धामा फरार भानु नगरपालिका-८ खतिवडाटारका ४७ वर्षीय शम्भुकुमार श्रेष्ठ २३ वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत तनहुँले विसं २०५५ मङ्सिर २७ गते २० दिन कैद र एक हजार जरीवानाको फैसला सुनाएको थियो ।
बहुविवाह मुद्धामै सोही ठाउँकी ४० वर्षीया पार्वती श्रेष्ठ पक्राउ परेकी छन् । उनी शम्भुको श्रीमती हुन् । निजलाई पनि अदालतले २० दिन कैद र एक हजार जरीवानाको फैसला सुनाएको थियो ।
यसैगरी नाता कायम मुद्धामा फरार एक र सम्बन्ध विच्छेद मुद्धामा फरार एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आइतबार अदालत दाखिला गरिएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बॉकी भएका व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिएको छ ।