व्यासले हरितालिका तीजमा बिदा दिने (थप निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले हरितालिका तीजमा बिदा दिने (थप निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७८, मंगलवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको बैठकले भदौ २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन व्यास नगरपालिका अन्तर्गतका कार्यालय, शिक्षण संस्था बन्द रहनेछन् । व्यास नगरपालिकाले विशेष पर्व र दिनका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । नगरपालिकाले व्यास जयन्ती, आदिवासी दिवस, शहीद दिवस लगायतमा बिदा दिँदै आएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    बैठकले गत भदौ ८ गतेको निर्णयहरुको समिक्षा गर्दै कार्यान्वयन हुन बाँकी निर्णयहरुलाई कार्यान्वयन प्रकृया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै आन्तरिक कर्मचारी सेवा सुविधा सम्बन्धमा कार्यविधि संशोधन गर्न विद्यमान समितिलाई जिम्मा दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

    बैठकले निम्बस फाउन्डेसन बिराटनगरसँग व्यास–१० दुम्सी बजारमा नगर अस्पतालको पूर्वाधार एवं आवश्यक उपकरणका लागि बजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ । बैठकले वन ऐन, २०७५ को दफा २२(१) बमोजिम व्यास नगरपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिसँग आ.व २०७७÷०७८ र २०७८÷०७९ को वार्षिक कार्ययोजना एवं आयव्यय अभिलेख माग गर्ने निर्णय समेत गरेको छ ।

    त्यसैगरी दमौली अस्पताल व्यवस्थापनका लागि सीमाना जोडिएको जिल्ला कृषि ज्ञान केन्द्रको जग्गा, भवन दमौली अस्पताललाई उपलब्ध गराई कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।