दुलेगौडा : भिमाद नगरपालिकाको जिदी खोलामा निर्माणाधीन मोटरेवल पुलको कामले तीव्रता पाएको छ । लामो समयदेखि अलपत्र परेको पुल पछिल्लो समय तीव्र गतिमा काम हुन थालेपछि निर्माणको अन्तिम चरणमा पुगको हो ।
पुलको ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीका ईञ्जिनियर दिपेन्द्र पन्थले बताए । उनका अनुसार अहिलेकै गतिमा काम भए बाँकी १५ प्रतिशत छिट्टै सम्पन्न हुनेछ । ‘पुल ढलानको काम भईसकेको छ । पुलमा फुटपाथ, दुईतर्फको सडक, नदी कटान रोक्न तारजाली गर्ने र फिनिसिङको काम बाँकी छ,’ उनले भने ।
निर्माण कम्पनीले भने झण्डै ९५ प्रतिशत काम सकिएको दाबी गरेको छ । दैनिक २०/२२ जना कामदार खटाएर काम भईरहेको निर्माण कम्पनी शान्ति निर्माण सेवा काठमाडौंका प्रतिनिधि कमल दाहालले बताए । उनका अनुसार तिहार अगाडीसम्म काम सम्पन्न हुनेछ । ‘रेलिङ हालिसक्यौँ । फुटपाथको काम बाँकी छ । थोरै काम तारजालीको पनि छ,’ दाहालले भने ।
पाँच वर्षदेिख यो पुल निर्माणाधीन रहेको छ । एक वर्ष अगाडीसम्म पुल निर्माणको काम निकै सुस्त थियो । समयमै पुल निर्माण नहुँदा यातायातका साधन र सर्वसाधारणले जिदी खोला वारपार गर्न सास्ती निकै सास्ती भोग्नु परेको छ ।
२९ असार २०७३ मा पुल निर्माणको सम्झौता भएको थियो । दुई वर्षभित्र बनाई सक्ने गरी शान्ति निर्माण सेवा काठमाडौंलाई जिम्मा दिईएकोमा ६ साउन २०७५ मा पहिलो म्याद सकिएको हो । त्यसपछि थपिएको म्याद पनि यही १२ असारमा सकिएको छ । कोरोनाका कारण सरकारले निर्माणधिन आयोजनाको म्याद स्वत ६ महिना थप गरेको छ । पुसमा सक्नुपर्ने भएपनि दशैँ अगावै सक्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।
खोलाको दुवैतर्फ सडक कालोपत्रे छ । पुल नहुदाँ कालेपत्रे सडक अर्थ नभएको स्थानीय बताउँछन् । दुई स्पानको पुलको लम्बाई ५० मिटर र चौडाई ११ मिटरको हुनेछ । पुलको लागत चार करोड ९० लाख ८२ हजार ९ सय १३ रुपैयाँ रहेको छ ।
यो पुल निर्माण भएपछि भिमाद बजारबाट मिर्मीभीम मार्ग हुदैँ जिल्लाका विभिन्न क्षेत्र र छिमेकी जिल्ला स्याङजा, पाल्पासम्म आउजाउ गर्ने सवारी साधन र सर्वसाधारणलाई सहज हुनेछ ।