तनहुँमा निषेधाज्ञा आदेश निरन्तरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निषेधाज्ञा आदेश निरन्तरता

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमौली : जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्ष सहित केन्द्रले निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको हो ।

    केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मंगलबार विज्ञप्ती जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म तनहुँ जिल्लाभर लागु गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा आदेश निरन्तरता दिइएको हो ।

    आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    उद्योग, कलकारखाना, होटल, रेष्टुरेढट, सिनेमा हल, व्यायमस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमता भन्दा बढी यात्रु नराख्न, बेठक गोष्ठि, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।

    विद्यालय लगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड १९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डको आधारमा सञ्चालन गर्न आदेश गिरिएको छ ।