दमौली : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तनहुँका विभिन्न मठमन्दिर, सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा विभिन्न योजनालाई बजेट विनियोजन भएको हो ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने गरी बजेट विनियोजन भएको सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।
व्यास नगरपालिकास्थित पुलिमराङ सहिद पार्कलाई ४२ लाख, भानुस्थित भानु जन्मस्थल संरक्षण विकास समितिलाई ३० लाख, व्यास-१४ स्थित मगर सङ्ग्रहालय भवन निर्माणका लागि १५ लाख, व्यास-१० स्थित अधुरो बोटे जातिको सङ्ग्रहालयका लागि १५ लाख, व्यास-१० स्थित दरै जातिको सङ्ग्रहालयका लागि १५ लाख, व्यास-११ स्थित दरै समाज भवनका लागि १५ लाख, व्यास-४ स्थित कवरस्थानका लागि १० लाख, बन्दिपुर-४ स्थित मगर गुठी भवनका लागि १५ लाख, भानु-१२ स्थित चन्द्रावती शिवालय मन्दिरका लागि १० लाख बजेट विनियोजन भएको छ ।
भानु-६ डाडाथोक शिवालय मन्दिरका लागि ७ लाख, भानु-१२ स्थित रक्तकाली मन्दिरका लागि १० लाख, देवघाट क्षेत्र विकास समितिका लागि एक करोड ५० लाख र देवघाटस्थित गढी संरक्षणका लागि १० लाख बजेट विनियोजन भएको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ ।