दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । दमौलीस्थित खुल्ला मैदानमा शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
खुल्ला मैदानमा एकैपटकमा ६० भन्दा बढीले मत हाल्न सक्ने गरी व्यवस्था मिलाइएको छ। खुल्ला मैदानमा दुईतर्फ रहेको गेटबाट मतदाता प्रवेश गर्नेछन् । तनहुँ क्षेत्र नम्बर १ र २ का लागि छुट्टाछुट्टै गेटबाट प्रवेश गरी मत हाल्ने व्यवस्था गरिएको छ ।
जिल्ला सभापतिका लागि वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा हुँदैछ। दुवै आफूले जित्नेमा ढुक्क छन् ।
उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, उदयराज गौली, किसान गुरुङ, सचिवमा सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल, मोहन गिरी, केशबहादुर सुनार, सहसचिवमा हुतमणि अधिकारी, परमेश्वर भट्टराई, मिलन आले र धिरेश खनालबीच प्रतिस्पर्धा हुँदैछ ।