‘अपाङ्गता भएका व्यक्तिका अधिकार प्रत्याभूतका लागि प्रतिबद्ध’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘अपाङ्गता भएका व्यक्तिका अधिकार प्रत्याभूतका लागि प्रतिबद्ध’

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    दमाैली । अपाङ्गता भएका व्यक्तिका अधिकार प्रत्याभूतका लागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापन कार्यक्रम गोरखाको आयोजना र तनहुँ नेत्रहीन सङ्घको सहकार्यमा मङ्गलबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गराउने प्रतिबद्धता जनाएका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सहयोग गर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरु कार्यालयसम्म आएर नागरिकता लिन असहज भएको खण्डमा कार्यालयले घरमै पुगेर नागरिकता वितरण गर्ने बरालले बताए ।

    २५ शय्या भन्दा बढी रहेको अस्पतालमा दुई शय्या अपाङ्गता भएका व्यक्तिलाई छुट्याउनुपर्ने प्रावधान भएपनि त्यसको कार्यान्वयन नभएको गुनासो आएपछि उनले त्यसका लागि कार्यालयको तर्फबाट पहल गर्ने बरालले आश्वासन दिए ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले अपाङ्गता भएका व्यक्तिलाई मागका आधारमा सीपमूलक तालिम दिइने बताउँदै निर्माण गरिएका भवन अपाङ्गमैत्री बनाइएको बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले अपाङ्गता भएका व्यक्ति पहिचानका लागि घरघरमै पुगेर सुविधा प्रदान गरिएको बताए ।

    भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले अपाङ्गता भएका व्यक्तिलाई उद्यमी बनाउन कम्प्युटर तालिम प्रदान गरिएको बताउँदै रुची अनुसारको सीप सिकाउने प्रतिबद्धता व्यक्त गरिन् ।

    तनहुँ नेत्रहिन सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले उच्च शिक्षामा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क हुनुपर्ने भएपनि कार्यान्वयन नभएको गुनासो गरे । कार्यक्रममा नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापन कार्यक्रम गोरखाका कार्यक्रम निर्देशक अमृत राईले अपाङ्गता अधिकारका सम्बन्धमा जानकारी गराएका थिए ।