दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले व्यास–५ वेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ ।क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको हो ।
विद्यालयले आवश्यकता अनुरुप क्लबलाई पत्र पठाएको आधारमा २० जना विपन्न परिवारका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए ।
सोही अवसरमा व्यास–५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले रोटर्याक्ट, रोटरीले समाजमा महत्वपूर्ण योगदान गर्दै आएको बताए । रोटर्याक्टले अन्य स्थानीय क्लबहरुसँग पनि समन्वय र सहकार्य गर्दै समाज रुपान्तरणको अभियानमा अघि बढ्न उनले युवाहरुलाई सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले विगतदेखि नै रोटर्याक्ट र रोटरीले विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्याएको बताइन् । विद्यालयका प्रअ रामदत्त पौडेलले विपन्नता र आवश्यकतालाई मध्यनजर गरी रोटर्याक्ट क्लबले सामाजिक सेवा गरी छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
क्लबका अध्यक्ष अधिकारीको अध्यक्षततामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मनोज राउत, प्रेसिडेन्ट नोमिनी अनुज बिमली लगायतले बोलेको कार्यक्रम संयोजक गोविन्द तिमल्सेनाले जानकारी दिए ।