काठमाडौ । काँग्रेस नेता रामचन्द्र पौडेलले सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको बताएका छन् ।
‘मेरा साथीहरुले रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग हुने निर्णयमा पुगेँ र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’, पौडेलले बिहीबार महाधिवेशनबाट निर्वाचित सभापतिसहित केन्द्रीय कमिटी सदस्यलाई बधाई दिँदै पौडेलले भने । उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको उनको भनाइ छ ।
उनले आफ्नो राजनीतिक यात्रा जारी रहने भन्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट विचलित नहुने स्पष्ट गरेका छन् ।
उनले पार्टीका सबैलाई समेटेर एकताबद्ध बनाएर लैजाने जिम्मेवारी आफूमा रहेको पनि बताएका छन् । उनले निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफू जस्तोसुकै अवस्थामा पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणका लागि लागिपर्ने बताएका छन् ।