दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्थापित ‘जीवन सेवा अभियान’ बाट एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत जेहेन्दार छात्रा बुद्धिसरा आलेलाई जीवन सेवा अभियानमार्फत् छात्रवृत्ति प्रदान गरिएको हो ।
क्याम्पसमा मङ्गलबार आयोजित कार्यक्रममा गाउँ सेवा कोषका कोषाध्यक्ष बेलबहादुर अधिकारीले थापालाई छात्रवृत्ति बापतको तीन हजार ६ सय हस्तान्तरण गरेका छन् । अधिकारीले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न जीवनसेवा अभियानमार्फत् १५ हजार सहयोग गरेको जीवन सेवा अभियानका संस्थापक अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
जीवन सेवा अभियानले स्थापाकालबाटै प्रेरणात्मक तथा सेवामूलक विविध कार्यक्रमहरु गर्नुका साथै क्याम्पसमा अध्ययनरत आर्थिक रुपमा कठिन अवस्थामा रहेका विद्यार्थीहरूको पहिचान गरी छात्रवृत्ति वितरण गर्दै आएको अध्यक्ष पूजा सुनारले जानकारी दिइन् ।
विद्यार्थीहरूको शिक्षा र सिकाईलाई निरन्तरता दिने, विद्यार्थीहरुमा आध्यात्मिक तथा नैतिक चिन्तन, मानवता तथा निष्पक्ष, निस्वार्थ सेवा प्रदान गर्ने तथा विद्यार्थीका लागि विद्यार्थी भन्ने उद्देश्यले अभियान गठन गरिएको थियो ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, अन्तराष्ट्रिय प्रशिक्षक ब्रम्हकुमार रमण भट्टराई लगायतले बाेलेका थिए ।