दमाैली । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य कलिला खानले जन्मदिनको अवसरमा विपन्न बालबालिकालाई न्यानो कपडा सहयोग गरेकी छन् । खानले ५४ औं जन्मदिनको अवसर पारेर तनहुँको व्यास नगरपालिका–११ स्थित ब्लुमिङ एकेडेमीका बालबालिकालाई बुधबार न्यानो कपडा सहयोग गरेकी हुन् ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक काममा सहयोग गर्नुपर्ने उनले बताइन् । चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन न्यानो कपडा वितरण गरेको खानले बताइन् । “सानो उमेरमा बढी हौसला पनि चाहिन्छ, कोहि बालबालिकाको परिवार सधैं कपडा किनिरहन पनि असक्षम छन्, भनेको बेला किन्न पाइँदैन, त्यसैले बालबालिकालाई न्यानो लुगा दिएकी हुँ ।”
सांसद जस्तो व्यक्तिले जन्मदिन गाउँमा रहेको विद्यालयमा नयाँ तरिकाले मनाउनु अरुका लागि सिक्न लायक बनेको स्थानीय राममाया बोहोराले बताइन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कल्पना नेपालीले विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा वितरण गरेर विद्यार्थी र विद्यालयलाई गरेको सहयोगको प्रशंसा गरिन् ।
सांसद खानले व्यास नगरपालिका–११ तनहुँसुरस्थित चेपाङ बस्तीका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरेकी छन् ।