गाछेपानी–कोत्रे सडकखण्ड सुधारका लागि सिडिओको निर्देशन, तर विश्वस्त छैनन् स्थानीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाछेपानी–कोत्रे सडकखण्ड सुधारका लागि सिडिओको निर्देशन, तर विश्वस्त छैनन् स्थानीय

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७९, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानी–कोत्रे सडकखण्डको धुलो समाधानका लागि तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)लाई निर्देशन दिएका छन् ।

    धुलोको समस्याबाट आजित भएका स्थानीयले मङ्गलबार प्रजिअको ध्यानाकर्षण गराएपछि प्रजिअ अर्यालले आयोजनालाई पत्र लेखी अविलम्ब सडक मर्मत सुधारका लागि निर्देशन दिएका हुन् ।

    प्रशासनले पिच बिग्री धुलो उड्ने ठाउँमा नियमित पानी छर्न र धुलो उड्न नदिन, खाल्डाखुल्डी परेका सडकखण्डमा मर्मत गरी धुलो नउड्ने बनाउन, गाछेपानी कोत्रे सडखण्डमा ग्रेडर रोलिङ गर्ने र नियमित पानी छर्ने व्यवस्था मिलाउन, सडक सुधारको कार्यको थालनी गर्दा कोत्रे गाछेपानी खण्डबाट सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    वर्षौदेखि धुलोको समस्याबाट पीडित भएका स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएपनि समस्या जहाँको तहीँ रहेको बताइएको छ । धुलो समाधानका लागि स्थानीयले तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

    यसअघि पनि समस्या समाधानका लागि आश्वासन पाएपनि काम नभएको स्थानीय युवा शंकर पन्तले बताए । “अहिले पनि आश्वासन त पाइयो, काम नभए आन्दोलन निरन्तर रहन्छ,” उनले भने । धुलो नउड्ने गरी दुई वटा ट्यांकरले पानी हाल्ने र दश दिनभित्र बिग्रेको बाटोमा ग्रेडर लगाएर सम्याउने गरी काम थाल्ने प्रजिअबाट आश्वासन पाएको पन्तले बताए ।

    “अब दुई दिनमा पनि काम नहुने र झारा टार्ने काम भएमा फेरि संघर्षका कार्यक्रम सुरु हुन्छ,” उनले भने ।