विपीको शालिकमा माल्यार्पण गर्दै शुक्लागण्डकीमा एमाले उम्मेद्वारको घरदैलो सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपीको शालिकमा माल्यार्पण गर्दै शुक्लागण्डकीमा एमाले उम्मेद्वारको घरदैलो सुरु

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दुलेगौडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेद्वारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन् ।

    बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा विपीचोकमा रहेको विपी कोईरालाको शालिकमा माल्यर्पण गर्दै एमालेबाट मेयरका उम्मेद्वार मुक्ति तिम्लिसिना, उपमेयर फुलमाया वाग्लेको घरदैलो अभियानको सुरुवात गरिएको हो । एमालेबाट शुक्लागण्डकीको १२ वटा वडामा वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दिएका अधिकांश सहभागी थिए ।

    एमालेका उम्मेद्वारहरुले सुरुमा बुधबार विहान शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरबाराही मन्दिरमा पुजा अर्चना गर्दै आर्शिवाद लिए । ढोरबाराही मन्दिरको प्राङगणमा बसेर उम्मेद्वारहरुले बोलेका कुरा पुरा गर्ने वाचा समेत गरे ।

    त्यसपछि शुक्लागण्डकी–८ पाटनमा रहेको शहिद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गर्दै शहिदको बलिदानीको प्रशंसा गर्दैै शहिदको सपना साकार पार्ने प्रण गरे । २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको श्रीमतिलाई भेट्दै उम्मेद्वारहरुले जितका लागि आर्शिवाद लिए ।

    शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शहिद स्मृति पार्कमा पनि उम्मेद्वारहरु पुगेर माल्यार्पण गरिएको छ । २०६३÷६३ को जनआन्दोलनमा शहादत प्राप्त गरेको शहिदहरुको स्मृतिमा यहाँ शहिद स्मृति पार्क निर्माण गरिएको छ । उम्मेद्वारको समुहले शुक्लागण्डकी–२ कोत्रेमा रहेको लालध्वज पार्कमा रहेका शदिहको शालिकमा पनि माल्यार्पण गरेका छन् ।

    उम्मेद्वारहरुले शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको पनि दर्शन गर्दै पुजा अर्चन गरे । शुक्लागण्डकी वासीलाई सुखी बनाउन सडक पुर्वाधार, कृषिमा आत्मानिर्भरता, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएको मेयरका उम्मेद्वार तिम्लिसिनाल बताउँछन् । उनी भन्छन्, ‘हामी जे बोल्छौँ त्यो पुरा गर्छौँ । कुनै किसिमको लोभ लालचमा पर्ने छैनौँ ।’

    निर्वाचनमा विजयी भएपछि कसैसँग पनि आग्रह पुर्वाग्रह राखेर काम नगर्ने उनको भनाई छ । नगर क्षेत्रमा रहेको खनिज र स्रोत साधनलाई उपयोग गर्दै विकासलाई जोड दिने उनले बताए ।

    ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधारको विकास, सम्बृद्ध, समानता र समुन्नत शुक्लागण्डकीका लागि नेकपा एमालेको सरकार’ नाराका साथ पाँच बर्षमा पार्टीका जनप्रतिनिधिले गर्ने प्रतिबद्धता पत्र सार्वजनिक यसअगाडी नै गरेको छ । सामाजिक न्याय सहितको आर्थिक विकास, शुसासन र न्यायोचित वितरण सहितको आर्थिक सम्बृद्धि नेकपा एमाले शुक्लागण्डकीको विकास नीति सार भएको उपमेयरकी उम्मेद्वार फुलमाया वाग्लेले बताईन् । शुक्लागण्डकीमा एमाले विजयी भएपछि दिगो शान्ति र विकासलाई प्राथमिकता दिने उनको भनाई छ ।

    एमाले शुक्लागण्डकीको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नती र मोटरबेल पुल निर्माणलाई मुख्य प्राथमिकता दिईएको छ । दर्जनौँ सडक र मोटरेवल पुलहरु निर्माणका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गरिएको छ ।

    ढोरको फलाम खानीको उत्खनन् अगाडी बढाईने प्रतिबद्धता छ । सेती नदीको दुई स्थानमा चेक ड्याम निर्माण गर्दै गिट्टी वालुवाबाट आम्दानी बढाउने र स्टिमर सञ्चालन गर्दै पर्यटकीय गन्तव्य बनाउने योजना छ । ‘सेती नदीमा जलमार्गको सम्भाव्यता अध्ययन गरिनेछ । शुक्लागण्डकीमा रहेका कुम्ले खोला, सुरौँदी खोला क्याङदी खोला, म्याग्दे खोला र सेती नदीका विभिन्न भागमा उच्च बाँध निर्माण गरेर जलशायहरुमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिनेछ’, प्रतिबद्धता पत्रमा भनिएको छ । नगरका फाँटहरुमा सिँचाईको व्यवस्थापन गर्दै उत्पादनमा आत्मानिर्भर गराउने लक्ष्य राखिएको छ ।

    दमकल सेवा सञ्चालन, दुई हजार पाँच सय क्षमताको सिटी हल निर्माण, व्यवस्थित बसपार्क, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, सेती नदीको सुन्दरता कायम, वडामै वर्थिङ सेन्टर र एम्बुलेन्स सञ्चालन, विदेश पढ्न जानेलाई पनि छात्रवृत्ति जस्ता महत्वकांक्षी योजनाहरु प्रतिबद्धता पत्रमा समेटिएको छ ।

    आगामी १० बर्षभित्र शुक्लागण्डकीको सम्मपुर्ण उत्पादनलाई औद्योगिकरण गर्ने प्रतिबद्धता छ । इलेक्ट्रिक सवारी साधनलाई अनुदान, इनडक्सन चुलोमा अनुदान, बिजुलीको युनिटमा विशेष छुट दिइने पनि एमालेले उल्लेख गरेको छ ।

    नगरपालिकामा रहेका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नगरपालिका नै लालपुर्जा दिने प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भनिएको छ । ‘सार्वजनिक, सरकारी र निजी जग्गाको पहिचान गरेर संरक्षण गर्ने । अव्यवस्थित बसोवासी एवम भुमिहिन दलिन, सुकुम्बासीहरुलाई दुई बर्षमा पुर्ण व्यवस्थापन गरिनेछ । नगरस्तरिय कानुन बनाई पुर्जा वितरण गरिनेछ । आवास क्षेत्र, एकीकृत कृषि, भु–उपयोग निती लागु गरिनेछ’, प्रतिबद्धता पत्रमा उल्लेख छ । संघीय सरकारले पुर्जा नदिए नगरपालिकाले सेतो पुर्जा भएपनि दुई बर्षमा बाँड्ने एमालेको उद्घोष छ ।