दुलेगाैडा । उम्मेद्वारले चुनाव चिह्न पाएसँगै जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । गाउँ शहर जताततै निर्वाचनमय माहोल छ । उम्मेद्वारहरुले भोट माग्न घरदैलो गरिरहेका छन् । स्पिकरमा पार्टीको एजेन्डा सहितको चुनावी गित घन्काउदैँ मतदाता रिझाउनमा व्यस्त छन् उम्मेद्वारहरु ।
गाउँदेखी बजारसम्म मतदाताले नमस्कारको अभिवादन पाईरहेका छन् । कोही उम्मेद्वार ढोग्दै आर्शिवाद मागिरहेका भेटिन्छ । केही उम्मेद्वारहरुले विकासका गफ चुटेर मन जित्न प्रयास गरेका छन् । घरमा मात्रै नभएर खेत बारीमा काम गरिरहेका मतदातालाई पनि भेट्नलाई उम्मेद्वार पुगेका छन् । बाटोमा भारी बोक्न लागेको भरिया भेटे उम्मेद्वारले भारी उचालिदिन्छन् ।
गएको पाँच बर्षमा पाइला नटेका राजनीतिक दल र उम्मेद्वारहरु यतिबेला बस्ती बस्तीका घरहरु चाहार्दैछन् । उम्मेद्वारहरु गाउँ आउन सुरु भएको भिमाद नगरपालिका–१ किहुँस्थित मियाँगाउँका मोहमद सफि मियाँ बताउँछन् । ‘गाउँमा आएर बाटोघाटो स्तरोन्नती गरिदिने, खानेपानीको सुुविधा दिने, खरका छानोमुक्त गाउँ बनाईदिने आश्वासन दिएका छन् । यसअगाडी पनि यस्तै आश्वासन पाइन्थ्यो । कति त पुरा नै भएनन्’, उनले भने । अघिल्लो निर्वाचनमा पनि यस्तै आश्वासन बाँड्दै हिँडेका उम्मेद्वारहरु हार जित भएपछि गाउँ फेरी फर्कने चेष्टा नगरेको उनले बताए ।
जिल्लाको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३६ उम्मेद्वारले प्रतिष्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । ढकालका अनुसार चार नगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा २१ जना चुनावी मैदानमा होमिएका छन् । छ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा ३१ जनाले प्रतिष्पर्धा गर्नेछन् । ८५ वडाको वडाध्यक्षमा ३६० जनाले प्रतिष्पर्धा गर्दैछन् । १७० खुला वडा सदस्य निर्वाचित हुनेमा ६०३ जनाको उम्मेद्वारी परेको छ । महिला वडा सदस्यमा २८६ र दलित महिला सदस्यमा २७५ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिएका मध्य ८० जना स्वतन्त्र उम्मेद्वार छन् । २३ दलले स्थानीय निर्वाचन लड्नलाई निर्वाचन कार्यालयमा दर्ता भएका थिए ।
अघिल्लो पटकको स्थानीय निर्वाचनमा जिल्लामा एक हजार ५८२ जनाले चुनावी प्रतिष्पर्धा गरेका थिए । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा मात्र ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका दुई लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन् ।