बन्दीपुरमा राेकिएन चितुवाको आक्रमण, एक बालककाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा राेकिएन चितुवाको आक्रमण, एक बालककाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७९, मंगलवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय सुपिम्र रिलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घरको आँगनमा खेलिरहेको अवस्थामा बालक चितुवाको आक्रमणमा परेका हुन् । चितुवाको आक्रमणबाट परेका बालकको शव घरभन्दा दुई सय मिटर माथि छपेली सामुदायिक वनको जङ्गलमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    “चितुवाको आक्रमणमा परेको थाहा पाउने बित्तिकै हामी खोज्दै आउँदा जङ्गलमा मृत अवस्थामा भेटेका छौ,” उनले भने, “बालकको घाँटीमा चितुवाले आक्रमण गरेको छ ।”

    केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ । गत शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए । बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको थियो ।

    विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।