चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई गाउँपालिकाद्वारा राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई गाउँपालिकाद्वारा राहत

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमाैली । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले मगरका परिवारलाई बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले मृतक बालकका बुबा प्रेम बगाले मगरलाई राहत स्वरुप बुधबार रु ५० हजार प्रदान गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र निवर्तमान अध्यक्ष पूर्णसिं थापाले मृतकका बुबा प्रेम बगाले थापालाई उक्त रकम प्रदान गरेका हुन् । गाउँपालिकाका अध्यक्ष थापाले मानिसको जीवनभन्दा पैसा ठूलो नभएपनि जनतासँग सरकार छ भन्ने अनुभूति दिलाउन राहत रकम प्रदान गरिएको बताए । थापाले केही दिन यता बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेकाले सतर्कता अपनाउन आग्रह गरे ।

    डिभिजन वन कार्यालय तनहुँले पनि मङ्गलबार किरिया खर्च बापत रु ५० हजार पीडित परिवारलाई प्रदान गरिसकेको छ । चितुवाको आक्रमणबाट मृत्यु भएको खण्डमा रु दश लाख राहत दिने प्रावधान बमोजिम पीडित परिवारलाई अब रु ९ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

    घरको आँगनमा खेलिरहेका बेला मङ्गलबार साँझ चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको हो । बालकको शव घरभन्दा दुई सय मिटर माथि जङ्गलमा फेला परेको थियो ।

    चितुवाको आक्रमण बढेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय तनहुँले साँझ र बिहानको समयमा घरगोठ उज्ज्यालो बनाउन, बालबालिकालाई घरबाहिर एक्लै नछाड्न आग्रह गर्दै आएको छ ।

    पाँच वर्षको अवधिमा तनहँुमा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमण बढेपछि आजै बन्दीपुरको प्युघरमा चितुवा नियन्त्रणका लागि खोर राखिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।