दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले गरेको १४ कर्मचारीको बढुवा लोक सेवा आयोगले बदर गरेको छ । नगरपालिकाले गत वर्ष १४ जना कर्मचारीको बढुवा गरेकामा प्रदेश लोक सेवा आयोगले उक्त बढुवा बदर गरिदिएको हो ।
शुक्लागण्डकी नगरपालिकासँगै जिल्लाका व्यास नगरपालिकाका १८ र म्याग्दे गाउँपालिकाका तीन जना कर्मचारीको बढुवा समेत बदर भएको छ ।
नगरपालिकाले हिमा पोख्रेलको अधिकृतस्तर छैटौबाट अधिकृत सातौ, तारापति भट्टराईको अधिकृतस्तर छैटौबाट अधिकृत सातौ, अनिल खनालको अधिकृतस्तर छैटौबाट अधिकृत सातौ, राजेन्द्र सोतीको अधिकृतस्तर छैटौबाट अधिकृत सातौ, विनोदप्रसाद कंडेलको सहायक स्तर पाँचौबाट अधिकृतस्तर छैटो, मन्जु सुवेदीको सहायकस्तर पाँचौबाट अधिकृतस्तर छैटौ, कृष्ण भण्डारीको सहायकस्तर पाँचौबाट अधिकृतस्तर छैटौमा बढुवा गरेको थियो ।
यस्तै तुलसीकुमारी शर्माको सहायकस्तर चौथोबाट सहायक पाँचौ, शिवराज अधिकारीको सहायकस्तर चौथोबाट सहायक पाँचौ, कल्पना गैरे सुवेदीको सहायकस्तर चौथोबाट सहायक पाँचौ, शालिकराम भट्टराईको सहायकस्तर चौथोबाट सहायक पाँचौ, अमृतप्रसाद रिजालको सहायकस्तर चौथोबाट सहायक पाँचौमा बढुवा भएको थियो । त्यस्तै ठाकुरप्रसाद पौडेल र ढकबहादुर आलेको ग्रेड वृद्धि भएको थियो ।
स्थानीय तहले आफ्नो कर्मचारीको सेवा, शर्त सम्बन्धी कानून बनाउँदा आयोगको परामर्श लिनुपर्ने व्यवस्था अनुसार परामर्श लिएर मात्र कानून बनाउनुपर्नेमा परामर्श बिना कानून जारी गरी बढुवा गरेकाले त्यस्तो बढुवा आयोगले बदर गरेको आयोगका सचिव विनोदबहादुर कुंवरले जानकारी दिए ।
आयोगमा उजुरी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा स्थलगत रुपमा निरीक्षण गर्दा आयोगको परामर्शबिना कर्मचारीको सेवा, शर्त सम्बन्धी ऐन जारी गरी बढुवा गर्ने गराउने कामकारवाही गरेको पाइएकाले सो ऐन अनुसार गरेका कामकारवाही प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार बदर गरिएको उनले बताए ।
आयोगले कर्मचारीको सेवा, शर्त सम्बन्धी कानून बनाउँदा तथा कानून बनाई कर्मचारीको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा प्रदेशक लोक सेवा आयोग ऐन, २०७६ को दफा ९ को उपदफा (५) को व्यवस्थालाई अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालले आयोगको पत्र प्राप्त भएपनि पालिकाले यस सम्बन्धमा निर्णय गर्न बाँकी रहेको जानकारी दिए ।