पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७९, बिहीबार

    दमाैली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् ।

    आँबुखैरेनी गाउँपालिका–२ र ४ को सीमानामा रहेको ऐनापहरा झरना पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको हो ।

    राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिए।

    “काठमाडौ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरु सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्,” उनले भने “यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।” यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् ।

    पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवा धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको बताइन्छ ।

    म्याग्दे गाउँपालिका–७ हर्षपुरका मोहन बरालीले राजमार्गका क्रममा यात्रा गर्दा ऐना पहरा झरनामा पुगेर आराम गर्दा आनन्द आउने बताए। “एकछिन भनेपनि थकाई मार्न आनन्द लाग्ने ठाउँ छ, राजमार्गबाटै नजिक भएकाले पनि यस ठाउँ गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ,” उनले भने ।

    पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ । ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। यहाँ स्काइ साइक्लिकिङ, शिशाको पुल बनाउने योजना बनाइएको छ ।

    गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनामा पुग्ने गरेका छन् । तनहुँकै अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।