काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउन जरुरी रहेको बताएका छन्। काठमाडौंको चावहिलमा शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका हुन्।
उनले भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुयाउनुपर्ने बेला आएको छ। नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुनेभयो। केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो।’
शेखर कोइराला पक्षले देउवापक्षलाई समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्मको अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन्।
यस्तै थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरे। आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनको भनाई थियो।
‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो। सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन।’