दमाैली । तनहुँको दमौलीमा गत पौष २२ गते शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ ।
महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समापन गरेका थिए । ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको अन्तिम दिन १० हजार दर्शकले महोत्सव अवलोकन र ८ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
त्यस्तै महोत्सवको अन्तिम दिनसम्म कुल १ लाख ५२ दर्शकले महोत्सव अवलोकन र १ करोड ५० को कारोबार भएको प्रवक्ता मगरले बताए । महोत्सवको अन्तिम दिन बुधबार राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेकोे थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा भएको महोत्सवको अन्तिम दिन बुधबार गायिका चिना थापा र र्यापर मिस्टर डि को प्रस्तुती रहेको थियो ।
पौष २२ गते शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव माघ ४ गते बुधबारसम्म संचालन भएको हो । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको थियो ।
महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।
त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु राखिएको घर्तीले बताइन ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको थियो । महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको थियो । त्यस्तै आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका थिए ।