काठमाडौ । बैंकले कर्जा असुलीका लागि प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाउने भएको छ।
नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित राखेर ऋण तिर्न आउने वा लिलामीको सूचना प्रकाशित गर्दै आएका थिए। यसले ऋणीको मानहानी गर्ने गरेको भनी आलोचना हुने गरेको थियो।
एकीकृत निर्देशनमा संसोधनले इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्थाअनुसार, कालोसूचिमा रहेको व्यक्तिले कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता खोल्न पाउनेछैन।