तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८०, मंगलवार

    दमाैली । तनहुँ जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घिरिङ गाउँपालिका–१ का उत्तम अधिकारीलाई परिचयपत्र वितरण गरेका हुन् ।

    अधिकारीको राष्ट्रिय परिचयपत्र सन् २०२२ मार्च १८ मा जारी भएको छ । राष्ट्रिय परिचयपत्रमा नामथर, ठेगाना, फोटो, नागरिकता नम्बर उल्लेख छ ।

    तनहुँमा विसं २०७६ सालबाट राष्ट्रिय परिचयत्र दर्ता सङ्कलन सुरु भएको थियो । सुरुआती चरणमा दर्ता गरेका नौ हजार जनाको परिचयपत्र जिल्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उनका अनुसार जिल्लामा आइपुगेका परिचयपत्र क्रमशः वितरण गरिनेछ ।

    दैनिक दुई सय ५० का दरले परिचयपत्र वितरण गरिने सहायक प्रजिअ गैह्रेले बताए । उनले भने, “दैनिक दुई सय ५० जनालाई म्यासेज गरी परिचयपत्र लिन आउन आग्रह गरिनेछ ।”

    कार्यालयमा हाल दैनिक एक सय जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने गरेका छन् । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । जिल्लामा हालसम्म एक लाख भन्दा बढीले विवरण दर्ता गरिसकेका छन् । प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । यसअघि तनहुँका दशवटै पालिकाका वडास्तरमा पुगेर पनि विवरण सङ्कलन गरिएको थियो ।