दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले नक्कली रकम सहित दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपुरको बुलिङटार गाउँपालिका–१ थामबेसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र सोही ठाउँका ३० वर्षीय गमबहादुर गरन्जा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आज तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी मुद्धामा पाँच दिनको म्याद थप गरिएको अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरुको साथबाट नक्कली रु एक हजारको एक सय ७६ थान नोट बरामद गरेको छ ।
व्यास नगरपालिका–१ गल्वुवेशीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शङ्का लागेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली रु एक हजारको नोट समेत पक्राउ गरेको थियो ।
प्रहरीले निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजको साथी गरञ्जालाई बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट पक्राउ गरेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए। दसैंका बेला नक्कली नोट दिएर ठगी गर्ने गिरोह सक्रिय हुने भएकाले शङ्का लागेमा तत्कालै प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
प्रहरीले पक्राउ परेका दुई जनाका साथीलाई पश्चिम नवलपरासीबाट बुधबार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण रामदास र तनहुँको ऋषिङ गाउँपालिका–३ का २४ वर्षीय सुरज सुनुवारलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रहरी उपरिक्षक विष्टका अनुसार यिनीहरु चार जना भारतमा काम गर्दथे । “यिनीहरुमध्ये एक जनाले छिटो पैसा कमाउने उपाय आफूसँग रहेको बताएपछि चन्द्रौटा आएर नक्कली नोट छाप्ने काम गरेको अनुसन्धानबाट खुलेको छ,” प्रहरी उपरिक्षक विष्टले भने, “त्यसपश्चात् दुई जना बुटवलतिर लागेको र अन्य दुई जना तनहुँ आएको देखिन्छ ।”