जोमसोम । गण्डकी प्रदेश अन्तर्गत हिमालपारीको जिल्ला मुस्ताङमा लेक लागेर तीन विदेशी पर्यटकले ज्यान गुमाएका छन् ।
एक साताको अवधिमा लेक लागेकै कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्।
लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले बताउनुभयो।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेका थिए ।
मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई पनि असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। भारतको तिलगङ्गाबाट आएका सत्यनारायणको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको पनि श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङको घाँसा पुगेपछि उनलाई असोज २३ गते श्वासप्रश्वासमा समस्या देखिए थियो।