दमाैली । संयुक्त राष्ट्रसङ्घको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्था युनाइटेड सिटिज लोकल गभर्नमेन्टको काउन्सिल सदस्य र कार्यकारी व्युरो सदस्यमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
केही दिनअघि चीनमा सम्पन्न संस्थाको नवौ कङ्ग्रेस सम्मेलनबाट तनहुँको व्यास नगरपालिकाका प्रमुख न्यौपाने दक्षिण तथा दक्षिण पश्चिम एसिया क्षेत्रबाट व्युरो सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
व्यास नगरपालिकाले सन् २०१७ नोभेम्बरदेखि उक्त सङ्गठनको सदस्य रहँदै आएको छ ।
उक्त संस्थाको अध्यक्षमा नेपालका अशोककुमार व्याञ्जु रहेकामा कार्यकाल समाप्त भई नयाँ अध्यक्षमा फिलिपिन्सका क्युरिन्निोका गर्भनर एवं फिलिपिन्स स्थानीय निकायका अध्यक्ष डाकिला कार्लो क्यु सर्वसम्मत निर्वाचित भएका छन् ।
सम्मेलनले सन् २०२३–२५ का लागि नयाँ कार्यसमिति निर्वाचित गरेको व्यासका नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
सम्मेलनमा विभिन्न देशका नगरहरुबीच औद्योगिक विकास, ग्रामीण सशक्तीकरण, युवा व्यवसाय प्रबद्र्धन, बालबालिकामैत्री, महिला सशक्तीकरण, मौसम परिवर्तनका असरहरुसँग सम्बन्धित विषयहरुमा विज्ञहरु र विभिन्न नगरपालिकाका चुनौति र उपलब्धीहरुका विषयमा अन्तरक्रिया भएको उनकाे भनाइ छ ।
नेपालबाट विराटनगर महानगरपालिका, घोराही उपमहानगरपालिका, धुलिखेल, व्यास, वालिङ, कागेश्वरी मनहरा नगरपालिका, जिविस महासङ्घ, नेपाल नगरपालिका महासङ्घ, नेपाल गाउँपालिका महासङ्घका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त सम्मेलनमा चीन, भारत, नेपाल, ताइवान लगायतका देशहरुबाट करिब पाँच सय प्रतिनिधिको सहभागिता थियो ।
स्थानीय सरकारको विश्वकै सबैभन्दा ठूलो नेटवर्क मानिएको यो संस्थाले शहरी संस्कृति, सभ्यता, पूर्वाधार विकास, आप्रवासन, स्थानीय सरकारको स्वायत्तता र शहरीकरण लगायतका मुद्दामा चासो राख्दै आएको छ ।