म्याद गुज्रिएको मदिरा विक्री गर्नेलाई रु दुई लाख जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याद गुज्रिएको मदिरा विक्री गर्नेलाई रु दुई लाख जरिवाना

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, सोमबार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा विक्री वितरण गर्ने व्यवसायीलाई रु दुई लाख जरिवाना गरेको छ । प्रशासन कार्यालयले व्यास नगरपालिका–४ का श्रीराम खनाललाई रु दुई लाख जरिवाना गरेको हो ।

    व्यास नगरपालिका–३ मा रहेको भानु सप्लायर्सले म्याद गुज्रिएको मदिरा विक्री वितरण गरेको गुनासो आधारमा प्रशासनले अनुगमन गरेको थियो । त्यसक्रममा प्रशासन कार्यालयले म्याद गुज्रिएका मदिरा जफत गरेको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले भानु सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (ठ) बमोजिमको अनुचित कार्य गरेकाले उक्त कसुरजन्य कार्य सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर भएकाले सोही ऐनको दफा ३९ को उदफा १ खण्ड (ख) बमोजिम जरिवाना गरिएको जानकारी दिए।

    उक्त जरिवाना सोमबारका मितिले सात दिनभित्र प्रशासन कार्यालयको कोड नम्बर ३१४९२३८०१ को नाममा नेपाल बैङ्क लिमिटेड दमौली शाखामा राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । उक्त अवधिभित्र जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुने सहायक प्रजिअ गैरेले बताए ।

    उक्त आदेशमा चित्त नबुझेमा आदेश प्राप्त गरेको सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रति सहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ ।

    व्यवसायीले अब आइन्दा म्याद गुज्रिएका सामग्री विक्री वितरण नगर्ने प्रतिबद्धता जनाएका छन् ।