शुक्लागण्डकीको एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति बनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति बनाइँदै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलको रुपमा प्रबद्र्धन गर्ने प्रयास थालिएको हो ।

    त्यसका लागि वडा कार्यालय र गुरुङ मगर सांस्कृतिक एकता समाजले यहाँ २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता गरेका छन् । वडा अध्यक्ष नारायणसिंह थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने र समाजले मूर्तिसहितको संरक्षणको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको छ ।

    यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष थापाको भनाइ छ । वडा कार्यालयले एक्लैले ठूला योजना निर्माण गर्न नसक्ने भएकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

    गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष गुरुङले गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्नेछ । समाजले चन्दा सङ्कलन गरी रकम सङ्कलन गर्नेछ । उनले भने, “समाजसँग आबद्ध देश तथा विदेशमा रहनेहरुसँग चन्दा सङ्कलन गरिनेछ ।”

    एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवद्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रबद्र्धन हुने उल्लेख गरे।

    प्रतिवेदन अनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदन अनुसार अनुसार दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ ।

    यसैगरी पृथ्वीराजमार्गमा लेखनाथदेखि म्याग्देबाट देखिने गरेर आमाको प्रतिकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति समेत निर्माण गरिनेछ । एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । जीपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ ।

    बुद्धजयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले भरिभराउ हुन थालिसकेको छ । सधैँ दुलेगौंडा शहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु साँझ बिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् ।

    स्थानीयवासीका अनुसार शनिबार र चाडपर्वमा दैनिक दुई÷तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । केही वर्ष पहिला यस ठाउँमा घाँस दाउरा गर्न बाहेक स्थानीय जान्थेनन् ।

    पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरी झिलीमिली ध्वजापताका टाँसिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु दश लाखको बजेटमा दुई सय मिटर रेलिङ सहितको पदमार्ग निर्माण गरेको थियो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।