काठमाडौं । नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए ।
त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भयो ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए ।
‘हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गर्नुभयो । हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो’, उनले भने, ‘कांग्रेसले आजको संसदमा घोर अलोकतान्त्रिक र असंसदीय व्यवहार प्रदर्शन गर्नुभयो ।’