इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताएका छन् ।

    इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उनका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गरेका हुन् । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।

    ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका महत्वपूर्ण कृति एवम् कैयौं अनुसन्धान र खोजमूलक लेखरचना चीरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिनै रहने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

    साथै स्वर्गीय ज्ञानमणिको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । सो समवेदना सन्देश राष्ट्रपति पौडेलकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारजनलाई हस्तान्तरण गरेका थिए ।