दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।
जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक एडिसनल क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिए ।
उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”