निर्माणाधीन मुग्लिन पोखरा सडकमा आकाशे पुल निर्माण गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्माणाधीन मुग्लिन पोखरा सडकमा आकाशे पुल निर्माण गर्न माग

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८१, मंगलवार

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीको मुख्यचोक भोर्लेटारचोकमा आकाशे पुल निर्माण गर्न माग गरिएको छ । व्यास नगरपालिका वडा नम्बर २ कार्यालयले मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० सँग भोर्लेटारचोकमा आकाशे पुल निर्माण गर्न माग गरेको हो ।

    वडाका तर्फबाट वडाध्यक्ष काशीराम श्रेष्ठले पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आकाशे पुल निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

    सडक विस्तारपश्चात् सडक वारपार गर्न उच्च जोखिम रहेकाले यस ठाउँमा आकाशे पुलको अति आवश्यकता भएको वडाध्यक्ष श्रेष्ठले बताए। उनले भने “राजमार्ग विस्तार भएपछि यस ठाउँबाट सडक वारपार गर्न निकै कठिनाइ हुनेछ । विद्यार्थीहरु विद्यालय जान र आउन समस्या हुने अवस्था छ ।” यात्रुहरुका लागि पनि सहज रुपमा सडक वारपार गर्न सक्ने अवस्था निर्माणका लागि आकाशे पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

    दमौली बजार अन्तर्गत रहेका सरकारी कार्यालय, विद्यालय तथा बजारमा काम विशेषले आवतजावत गर्ने करिब नौ हजार विद्यार्थी, पैदलयात्री उच्च जोखिममा रहेकाले आकाशे पुल निर्माण गर्न आग्रह गरिएको श्रेष्ठले बताए। उनले भने, “अति व्यस्त सडक वारपार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गरी अहिले नै आकाशे पुल निर्माण गर्न सकिए दुर्घटनाबाट बच्न सकिन्छ । सुरक्षित आवतजावतका लागि स्थलगत प्राविधिक अध्ययन गरी आयोजनाबाट आकाशे पुल निर्माण गर्न माग गरेका छौ ।”

    मुग्लिन पोखरा सडक विस्तारका क्रममा सडक वारपार गर्न छुट्टै व्यवस्था छैन । जथाभावी रुपमा सडक वारपार गर्दा दुर्घटनाको जोखिम हुने अवस्था रहेको वडा सदस्य सुरेश वाग्लेले बताए।