पहिराले तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

    पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    प्रनाउ रायका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ । उनका अनुसार सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।

    यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो ।

    कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।