भारतीय दूतावासको सहयोगमा आँबुखैरेनी क्याम्पसकाे भवन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भारतीय दूतावासको सहयोगमा आँबुखैरेनी क्याम्पसकाे भवन निर्माण

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    दमाैली । नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

    उक्त भवनको आज भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरे ।

    क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप रु २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिए । विसं २०६९ फागुनमा निर्माण सुरु भएको उक्त भवन २०७२ मा निर्माण सम्पन्न भएको हो ।

    दुईतले २४ कोठा भएको उक्त भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए । क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा रहेको उनले बताए ।

    क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन् । भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताए । गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गरे ।