दमौली । नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सले सर्लाहीका खेलाडीलाई तनहुँको भन्दै टिममा छनोट गरेको छ । तनहुँ घर भई नियमित क्रिकेट खेलिरहेका खेलाडीलाई नछानेर पोखरा एभेन्जर्सले सर्लाहीका सन्दिप पराजुलीलाई तनहुँको भन्दै छनोट गरेको हो।
पोखरा एभेन्जर्सले स्याङ्जाबाट सन्दिप खत्री, नवलपुरबाट सुदीप अर्याल, कास्कीबाट कृष्ण पौडेल र सोहेल कुवंरलाई गण्डकी हिरोज्का रुपमा छनोट गरेको छ। तर तनहुँकै क्रिकेट खेलाडी छनोट नगरी बाहिरी जिल्लाका खेलाडीलाई तनहुँको भन्दै छनोट गरिएपछि क्रिकेट खेलाडी निराश भएका छन् । यद्यपि पराजुली तनहुँकै टिमबाट क्रिकेट खेल्ने गरेका छन् ।
तनहुँका चन्द्रकान्त पौडेल, समिर कंडेल, एलिक श्रेष्ठ प्रदीप अर्याल लगायत नियमित क्रिकेटमा आबद्ध छन् । तनहुँका खेलाडीले मौका नपाउने तर बाहिरी जिल्लाकाले तनहुँको नाम बिकाएर मौका पाएपछि उनीहरु निराश बनेका हुन् । एक खेलाडीले भने, ‘तनहुँका खेलाडीमाथि धोका गरिएको छ ।’