दमौली । सदरमुकामस्थित व्यास नगरपालिकामा आजबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा नगरपालिकाबाट परिचयपत्र वितरण कार्य सुरु गरिएको हो ।
कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी लगायतको सहभागिता थियो ।
नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले राष्ट्रि परिचय पत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताए ।
शुक्लागण्डकी नगरपालिकाले पनि मंगलबारदेखि नै परिचयपत्र वितरण सुरु गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले सर्वसाधारणलाई परिचयपत्र वितरण गरेर उक्त कार्यको शुभारम्भ गरे ।
योसँगै जिल्लाका नौ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको छ ।