दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-२ पौवामा चोरीका मोटरसाइकल सहित पॉच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उदयश्वर अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जॉच गर्ने क्रममा नम्बर प्लेट नभई चलाई ल्याएको तीन वटा मोटरसाइकल सहित पॉच जना पक्राउ परेका हुन् ।
चालकहरुसँग शंका लागि सवारी अनुमति पत्र लगायत अन्य कागजातहरु माग गरी सोधपुछ गर्ने क्रममा निजहरुले चलाई ल्याएका मोटरसाईकलहरु चोरी गरी प्रयोग गरेको भन्ने खुलेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २१ वर्षीय विनायक विश्वकर्मा, सोही ठाउँ बस्ने १८ वर्षीय विश्व पुन मगर, १९ वर्षीय अनिश श्रेष्ठ, भरतपुर महानगरपालिका-१५ फूलबारी बस्ने १८ वर्षीय आयुष बयलकोटी, भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २० वर्षीय अर्जुन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।