तनहुँमा धान उत्पादन वृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा धान उत्पादन वृद्धि

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०८१, बुधबार

    दमौली । तनहुँमा धान उत्पादन बढेको छ । गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

    केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ ।

    चालु आर्थिक वर्षमा आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

    जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ । —