दमौली। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताएका छन् ।
तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गरे । नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री गुरूङले भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोच त्याग्न आग्रह गरे ।
उनले भने, “भविष्य बनाउनका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकता गहिरो रूपमा बसिसकेको छ । त्यस्ता मानसिकता त्यागेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ ।”
सक्षम र दक्ष जनशक्ति उत्पादनमा राज्यले ठूलो लगानी गरेकाले त्यस्ता नागरिक स्वदेशमै बसेर केही गर्नुपर्नेमा उनको जोड थियो । संविधानले जनजातिलाई अधिकार दिएकाले जनजातिका छोराछोरी उच्च तहमा पुग्न सकेको मन्त्री गुरूङले बताए । मन्त्री गुरूङले शास्त्र र परम्परा हराए भाषा हराउने र भाषा हराए जात नै लोप हुने भएकाले भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुनुपर्ने बताए ।
भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने कार्यमा हरेक जातजाति आफैँ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेश सरकार सबै जातजातिको संरक्षणका लागि क्रियाशील रहने बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चाडपर्वले जातीय सद्भाव कायम राख्न सहयोग पुग्ने उल्लेख गरे ।