अखिल क्रान्तिकारीको अध्यक्षमा तनहुँका सुदिन पौडेलको उमेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अखिल क्रान्तिकारीको अध्यक्षमा तनहुँका सुदिन पौडेलको उमेदवारी

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०८१, बुधबार

    दमाैली । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्वकीय क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा तनहुँका सुदिन पौडेल उमेद्वार बनेका छन् ।

    गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन उमेर हदको बिवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । गत पुष १४ गते देशभरका प्रतिनिधीहरुले गरेको मतदानबाट कमिटिमा ३२ वर्षको उमेर हद लगाउनुपर्नेको पक्षमा बहुमत भएको थियो ।

    अध्यक्षमा पौडेल सहित हेमन्त राई, उपदेश यादव, बिजय सापकोटा, विश्वमणी थापा र योगेन्द्र बुढा छ जना उमेद्वार रहेका छन् । नेतृत्व चयनका लागि माघ १२ गते सातै प्रदेशमा तोकिएको निर्वाचन केन्द्रमा मतदान हुदैछ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने मुद्दा उठाएका पौडेलले उमेरहदको निर्णयलाई कार्यान्वयन गर्न नेतृत्वमा अघि सरेको बताए।

    विद्यार्थीहरुको समस्या र आवश्यकतालाई नीतिगत रुपमा सम्बोधन गराउन सरकारसँग पैरवी गर्ने, स्वबियू चुनावबाट संगठनलाई पहिलो बनाउने, समाजवादी शिक्षाको मुद्दालाई कार्यान्वयन गराउने, राष्ट्रियता र जनजिविकाको मुद्दामा पहरेदारी गर्ने, शैक्षिक र सामाजिक क्षेत्रका विकृति, बेथिति, भ्रष्ट्राचारको बिरोध र खबरदारी गर्ने पौडेलको चुनावी मुद्दा रहेका छन् ।

    माओवादीका अध्यक्ष प्रचण्डसँग पनि निकट सम्बन्ध बनाएका पौडेललाई नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले समर्थन गरेका छन् । अध्यक्ष प्रचण्ड लगायत धेरै शिर्ष नेताहरुको आफूलाई समर्थन रहेको पौडेलले बताए।

    तनहुँको बन्दिपुरका पौडेल अखिल क्रान्तिकारी गण्डकीका निवर्तमान अध्यक्ष छन्। उनकाे पुख्यौली घर म्याग्दीको पुलाचौर हो । अखिल क्रान्तिकारीको म्याग्दी बेनी स्थित बेनी सामुदायिक माविको इकाई कमिटि अध्यक्ष हुदै विद्यार्थी राजनीति सुरु गरेका पौडेलले अखिल क्रान्तिकारी म्याग्दीको एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।

    म्याग्दीका माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद रेशमबहादुर जुग्जाली (सुविन) गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा पौडेलले सचिवालयमा काम गरेका थिए ।

    म्याग्दी बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरेका पौडेलले विद्यार्थी संगठनलाई शैक्षिक मुद्दासँगै सामाजिक गतिबिधी र विपद् ब्यवस्थापनका काममा पनि परिचालन गर्ने अभ्यास गराएका थिए । शैक्षिक, राजनीतिक र सामाजिक मुद्दामा जोड्दै संगठनलाई चलायमान र सुदृढ बनाउने पौडेलले बताए।

    अखिल क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समितिमा ३३ जना पदाधीकारी, एक सय ६२ जना सचिवालय र केन्द्रिय सदस्य चयन गर्न मतदान हुन लागेको हो । चुनावका लागि मङगलबार मनोनयन दर्ता भएको थियो ।