तनहुँ जलविद्युतको ‘केवल टनेल’ पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युतको ‘केवल टनेल’ पूरा

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    पहिलाे प्याकेजकाे कामका लागि तीन वटा कम्पनीकाे बाेलपत्र, स्वीकृतिका लागि एडिबी पठाइयाे

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय चालिस मेगावाट क्षमताको जलविद्युत आयोजनाको पावर हाउसको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो ।

    आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १ सय ८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिनुभयो । “केवल टनेलको ब्रेकथु्रु भएको छ, अब विद्युतगृह (पावरहाउस) निर्माणको काम शुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भन्नुभयो । भण्डारीका अनुसार कोभिड–१९ का कारण शुरुवाती चरणमा केही समयका लागि काममा असर परेपनि हाल निरन्तर काम भइरहेको छ । केवल टनेलबाट विद्युतगृहमा तारहरु लगिनेछ ।

    “कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि पहिलो पटक गरिएको लकडाउनले केही समय आयोजनाको काम प्रभावित भयो,” उहाँले भन्नुभयो, “पछि सरकारले ठूला आयोजनाहरुमा सुरक्षा सावधानी अपनाएर काम गर्न दिने निर्णय भएपछि स्थानीय प्रशासनसँग समन्वय गरेर कामलाई अगाडी बढाएका छौ ।” आयोजनाका लागि खटिएका कामदार आयोजनाकै क्याम्पमै बसिरहेका छन् ।

    आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा सम्झौता भएको थियो ।

    आयोजनाको पहिलो प्याकेज अन्तर्गतको कामको लागि पुनः बोलपत्र आह्वान भएकोमा एसियाली विकास बैङ्क (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो । पहिलो प्याकेजको ठेक्का लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाएपनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।

    एडिबीले चार वटा कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि आयोजनाले पुनः बोलपत्र आह्वान गरेकामा तीन वटा कम्पनीले बोलपत्र पेश गरेको प्रबन्धक भण्डारीले जानकारी दिनुभयो । “असार २३ गते (जुलाई ७) मा तीन वटा कम्पनीले बोलपत्र पेश गरेका थिए,” भण्डारीले भन्नुभयो, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतीका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौ ।” उहाँका अनुसार अगष्टभित्रै एडिबीबाट स्वीकृत भएर आउने अनुमान छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र साेङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका छन् । “जुलाईको अन्तिमसम्म प्राविधिक मूल्याङ्कन सकेर एडिबी पठाइएको र एडिबीको जवाफको प्रतिक्षामा छौ,” भण्डारीले भन्नुभयो ।

    आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युतगृहको पहुँचमार्ग निर्माणका लागि १ सय ५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २ सय ३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँचमार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप ५ प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ ।

    पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैङ्क (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।