


दमौली, १ भदौ । अखिल नेपाल महिला संघ नवलपुर जिल्ला विनयत्रिवेणी गाउँपालिका अध्यक्ष गोमा पौडेल (सावित्री) को हत्याको घटनाप्रति अनेमसंघ तनहुँले खेद व्यक्त गरेको छ ।
गत साउन ३० गते सर्ती टाँडी भन्ने स्थानमा बिहान १० बजे खेतमा काम गरिरहेको अवस्थामा ५० वर्षीय महेन्द्र पौडेलले छुरा प्रहार गरेर हत्या गरेका थिए ।
अनेमसंघ तनहुँ अध्यक्ष सीता पाण्डेले आइतबार विज्ञप्ती जारी गरी विर्भत्सपुर्ण हत्याको खेद व्यक्त गरेकी हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘महिला मुक्ति आन्दोलनको एक अभियान्ता, सयौं महिलाहरुलाई न्याय दिन सफल व्यक्ति, महिला हिंसा विरुद्धको एक योद्धा आज आफै यो अवस्थावाट मृत्युवरण गरिनु त्यसमा पनि आफ्नै श्रीमानबाट जुन विडम्वनाको विषय हो ।’
आज पनि समाजमा महिला सुरक्षित नरहेको जनाउँदै विज्ञप्तीमा समाजमा कुर र ज्याजतीको संस्कार, संस्कृति र मनोवृत्ति विद्धमान नै छ भन्ने नमुना भएको उल्लेख गरिएको छ । ‘यस घटना प्रति संघको गम्भिर ध्यानआकर्षण भएको छ । यस घटनाको दोषीलाई कडा भन्दा कडा कानुनी सजायको माग गर्दछौं । स्वर्गीय गोमा पौडेल प्रति भावपुर्ण श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।