३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, आईतवार

    काठमाडौं : लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

    एक सरकारी अधिकारीका अनुसार अब लकडाउन नगर्ने निर्णय अनुसार संक्रमण देखिएका ठाउँमा अघोषित रुपमा लकडाउन सरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको हो ।

    गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

    नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।

    आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।

    महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन् ।

    निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ । आइतबारबाट उपत्यकामा खाद्यान्न तथा तरकारी पसल पनि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।