


दमौली, ३ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना र खाद्य डिभिजन दमौलीको सहयोगमा मंगलबारदेखि यहाँ खाद्य प्रशोधन प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । चार जिल्लाका उद्योगी व्यवसायीलाई लक्षित गरी दमौलीमा तीन दिनदेखि तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खाद्य प्रविधिको प्रयोग गरेर कोदो जस्तो रैथाने खाद्य पदार्थलाई परिकार विविधीकरण गर्नुपर्ने बताए । उनले पालिका जनताको स्वास्थ्यमा ख्याल गर्दै स्वच्छ सफा खानेकुरा बजारमा रहने कुरा सुनिश्चित गर्न तत्पर रहेको बताए । उनले खाद्य डिभिजन दमौलीले अनुगमन निरीक्षण प्रभावकारी रुपमा गर्दै आएको र पालिकाले पनि यस कार्यमा सहयोग गरेको उल्लेख गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले कानुन बमोजिम गुणस्तर मापदण्ड पुगेको प्रशोधित खाद्य पदार्थ उपभोक्तामाफ पुग्नुपर्ने बताए ।
खाद्य कार्यालय पोखराका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले पालिकाले कृषि, भेटेरीनरी जस्तै खाद्य प्राविधिक पनि राखेर बजार अनुमगनलाई प्रभावकारी बनाउन तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले उल्लेख गरेको प्रावधानलाई कार्यन्वयनमा ल्याए जनताले महसुश गर्ने गरी काम हुने बताए ।
चार जिल्लाका ३५ जना सहभागी रहेको उक्त तालिममा टोमेटो केचअप, चट्नी सस, जाम र मासुको अचार प्रशोधन गर्ने तालिम प्रदान गरिने खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
तालिममा खाद्य विभागका प्रशिक्षक वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ तथा खाद्य कार्यालय पोखराकी खाद्य अनुसन्धान अधिकृत रन्जना चौधरीले सहजीकरण गर्नुहुनेछ । तालिममा तनहुँ, लमजुङ, गोरखा र नवलपुरका उद्योगी व्यवसायी सहभागी छन् ।