


काभ्रेपलाञ्चोक, २९ भदाै । गत २४ भदौमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन् ।
पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा आगजनी एवं तोडफोडमा संलग्न रहेका भिडियो र फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर सभापति विवेक भट्टराईले पार्टी छाडेको घोषणा गरेका हुन् । भट्टराई काठमाडौं विश्वविद्यालय कुप्समा ल्याब टेक्निसियन पदमा कार्यरत छन् ।
२४ भदौमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्वमेयर भीम न्यौपाने, क्याप्टेन रामेश्वर थापा, पूर्वसांसद शिव हुमागाईं, वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी लगायतको घरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
पूर्वसांसद हुमागाईंको पनौतीस्थित घरबाट गाडीमा रास्वपाका नगर सभापति भट्टराईले नै आगो लगाएको भिडियोमा देखिन्छ । पनौती क्षेत्रको आन्दोलनको नेतृत्व उनै भट्टराईले सम्हालेका थिए ।
पनौती बसपार्कमा जम्मा भएको भिडले हुमागाईंको घर तोडफोड तथा गाडीमा आगजनी गरेपछि पनौती नगरपालिका तोडफोड गरेको थियो । त्यसपछि त्यो टोली पनौती नगर उपप्रमुख गीता बञ्जाराको घर, रामेश्वर थापाको घर, पनौती नगरका पूर्वप्रमुख भीम न्यौपानेको घर जलाएर वडाध्यक्ष अधिकारीको घर तोडफोड गर्न पुगेको थियो ।(अनलाइन खबर)