टी-२० विश्वकप छनोटअघि नेपालको लगातार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकप छनोटअघि नेपालको लगातार जित

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८२, सोमबार

    काठमाडौ, २० असोज । आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोटअघिका दुवै वाम अप खेलमा नेपालले जित निकालेको छ।

    सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो। शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो।

    सोमबार नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।

    कतारका लागि मुहमद तनविरले ५१ रन, मुहमद असिमले ३० रन र मोहमद ब्रइगले ४० रन बनाएका थिए।

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने ललित राजवंशी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

    आयोजक ओमानमा दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो।

    नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए। अर्का ओपनर आसिफ शेख ११ रन तथा कप्तान रोहितकुमार पौडेल ८ रनमा आउट भएका थिए। 

    दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा कुशल मल्लले पनि नटआउट ३८ रन नै जोडे। कुशलले २९ बलमा १ चौका र २ छक्का हिर्काए।

    सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए भने आरिफ शेखले ९ बलमा १३ रन बनाए। 

    बलिङमा कतारका शारिक मुनिर र इक्रामुल्लाहले २-२ विकेट लिए। 

    नेपालले युएईमा वेस्ट इन्डिजमाथि २-१ ले सिरिज जितेर ओमान पुगेको हो। 

    ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। नेपालले कुवेतसँग आगामी बुधबार र जापानसँग शुक्रबार खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

    ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। 
    तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ। 

    नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।