


दमाैली, ११ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाइ सडकछेउको भित्तामा ठोक्किदा माइक्रोमा सवार एक जनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ५५ वर्षीया बुधमाया तामाङ रहेको उनले बताए ।
घाइते तामाङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा अन्य १३ जना घाइते छन् । घाइते हुनेहरुमा घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय इश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ३७ वर्षीय डोलराज तामाङ, लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र ५ वर्षीया सिर्जना तामाङ रहेका छन् ।