प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८२, सोमबार

    दमौली, १ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो ।

    ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

    उक्त ठाउँमा मतदान केन्द्र थप गर्न ऋषिङ गाउँपालिकाले जिल्लामा सिफारिस गरेको थियो । उनले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा पठाइएको जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले उक्त ठाउँको केही दिन अगाडी निरीक्षण समेत गरेको थियो । तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् ।

    २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले मतदाता नामावली दर्ताका लागि कार्यालयमा दैनिकजसो भीड रहेको जानकारी दिए ।